ज्येष्ठ नागरिक दिवसकै दिन ७४ वर्षीया बृद्धा बलात्कृत

डोटी । विश्वभरी २८ औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइरहेको दिन डोटीमा एकजना बृद्धा बलात्कृत भएकी छन् ।

सोमवार बिहान ७ बजेतिर आफ्नो गाउँबाट छिमेकी गाउँ जाने क्रममा बडीकेदार गाउँपालिका-३ की ७४ वर्षीया बृद्धा बलात्कृत भएकी हुन ।

उनलाई बाटोमा एक्लै हिँडिरहेको देखेपछि बोगटान गाउँपालिका-१ सिमचौर पान्सा घर भएका करिब २२ वर्षीय गणेश भनिने एकेन्द्र धामीले बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

पीडित महिला चिच्याएको आवाज सुनेपछि घटनास्थलतर्फ गएका स्थानीयवासीले एकेन्द्रलाई नियन्त्रणमा लिइ प्रहरीको जिम्मा लगाएका थिए ।

बलात्कारको आरोप लागेका धामी प्रहरीकै नियन्त्रणमा छन् । उनीबिरुद्ध जवरजस्तीकरणी सम्बन्धी मुद्धा चलाइने जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक धु्रब बिष्टले जानकारी दिए ।

उक्त घटनासहित डोटी जिल्लामा साउन यता बलात्कारका पाँच घटनाहरु भएका जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।

साउन यता बलात्कारका पाँच घटना

साउन १७ गते डोटी आदर्श गाउँपालिकामा २२ वर्षीया एक महिलालाई घरमै गइ बलात्कार गर्न खोजेको आरोपमा आदर्श गाउँपालिका-२ मा ३० वर्षीया धौले लुहारबिरुद्ध बलात्कारको प्रयासमा मुद्धा दर्ता भएको छ ।

यस्तै शिखर नगरपालिकाकी १६ वर्षीया बालिकामाथि जवरजस्ती करणी गरेको आरोपमा सायल गाउँपालिका-६, डोटी घर भइ हाल शिखर नगरपालिका-६ मा बस्दै आएका शिवराज लुहारलाई प्रहरीले पत्राउ गरेको छ ।

पूर्वीचौकी गाउँपालिकाकी २१ वर्षीया अपाङ्ग महिलालाई जवरजस्तीकरणी गरेको आरोपमा सोही गाउँपालिका वडा नं। ५ का ३५ वर्षीय शिव लुहारबिरुद्ध जवरजस्ती करणीको मुद्धा दर्ता भएको छ ।

शिखर नगरपालिकाकी १७ वर्षीया बालिकालाई जवरजस्तीकरणी गरेको आरोपमा शिखर नगरपालिकाकै एक युवकलाई प्रहरीले गिरफ्तार गरेको छ ।

यी घटनामध्ये एक घटना जेठमा भएको भएपनि प्रहरीमा उजुरी असोजमा मात्रै आएको प्रहरी निरीक्षक बिष्टले जानकारी दिए । ‘एक वर्षसम्म हदम्याद राखिएको छ, त्यसकरण ढिलो गरी पनि मुद्धा लिएर आउँछन्,’ निरीक्षक बिष्टले भने, ‘बिगतका वर्षहरुको तुलनामा यस वर्ष जबरजस्तीकरणी सम्बन्धी घटनाहरु बढी नै आईरहेका छन् ।’

-Online khabar

Leave a Reply

Your email address will not be published. Required fields are marked *