मुख्यमन्त्री पोखरेलद्धारा ‘बकर इद पर्व’को शुभकामना

बुटवल । प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेलले इस्लाम धर्मावलम्बीहरुको महान पर्व ईदउल अजाहा (बकर इद) पर्वको अवसरमा शुभकामना दिएका छन् । बुधबार इस्लाम धर्मालम्बीहरुले बकर इद पर्व मनाउन लागेको यो अवसरमा मुख्यमन्त्री पोखरेलले शुभकामना दिएका हुन ।

‘इस्लाम धर्मावलम्बीहरुको महान पर्व ईदउल अजाहा (बकर इद) पर्वको अवसरमा समस्त स्वदेश तथा विदेशमा रहनुभएका इस्लाम समुदायका दाजुभाइ दिदीबहिनीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।’ शुभकामना दिदै उनले भनेका छन्- ‘नेपाल सांस्कृतिक विविधता भएको मुलुक हो । सांस्कृतिक विविधताले मुलुक रंगिएको छ । विभिन्न जाति र समुदायका पर्व कुनै जाति विशेषका मात्रै नभएर सबैका साझा पर्व हुन् । यी पर्वले मुलुकमा सामाजिक सद्भाव, भातृत्व र मेलमिलापको वातावरण तयार पार्न सघाउ पु¥याएका छन् । बकर इदले पनि सद्भाव र भाइचारा बढाउन महत्वपूर्ण भूमिका खेल्दै आएको छ । यसको सांस्कृतिक र सामाजिक सन्देशलाई प्रवाह गरी नेपाली समाजमा एकता, सद्भाव र मेलमिलाप अझ बढाउन जरुरी छ ।’

अल्पसंख्यक मुस्लिम समुदायको उत्थान र विकासका लागि संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले मार्ग प्रशस्त गरेको शुभकामना दिँदै मुख्यमन्त्री पोखरेलले बताएका छन् । ‘संवैधानिक रुपमै मुस्लिम आयोगको गठन गर्ने व्यवस्था गरेर मुस्लिम समुदायप्रति सम्मान व्यक्त गरेको छ । यतिखेर मुलुक तीन तहको चुनाव सम्पन्न भइ संविधान कार्यान्वयनको दिशामा अघि बढेको छ । संविधानको कार्यान्वयन हुँदै जादा सबै समुदाय, वर्ग र जातिले व्यवहारिक रुपमा प्राप्त अधिकारको उपभोग गर्दै जानेछन् ।’ उनले भनेका छन् ।

साथै उनले समृद्ध प्रदेशका माध्यमवाट समृद्ध नेपाल निर्माण गर्ने महाअभियानमा प्रदेशका सबै राजनैतिक दल, समुदाय,संघ संस्था र आम नागरिकमा हार्दिक अपिल समेत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *