भारतका पूर्व प्रधानमन्त्री अटलको निधन, प्रधानमन्त्री ओलीद्वारा समवेदना व्यक्त

काठमाडौँ । भारतका पूर्व प्रधानमन्त्री अटलबिहारी बाजपेयीको असामयिक निधन भएकामा प्रधानमन्त्री केपी शर्मा ओलीले हार्दिक समवेदना व्यक्त गरेका छन् ।

नेपाल सरकार र नेपाली जनताकातर्फबाट भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई एक शोक सन्देश पठाउँदै प्रधानमन्त्री ओलीले स्वर्गीय बाजपेयी निष्ठावान, दूरदृष्टियुक्त र देशप्रति समर्पित राजनेता हुनुहुन्थ्यो भनेका छन् ।

सन्देशमा प्रधानमन्त्री ओलीले स्वर्गीय बाजपेयीले भारतका जनताको निःस्वार्थ भावले गरेको उदाहरणीय सेवा र दूरदर्शिताको सधै स्मरण भइरहने उल्लेख गरेका छन् ।

पूर्व प्रधानमन्त्री बाजपेयीको निधनले भारत र विश्वले नै एक उच्च राजनीतिक व्यक्तित्वलाई गुमाएको उल्लेख गर्दै प्रधानमन्त्रीले शोक सन्देशमा उनी नेपालको शुभचिन्तक र वास्तविक मित्र रहेको पनि उल्लेख गरेका छन् ।

प्रधानमन्त्री ओलीले नेपाल–भारत सम्बन्धलाई सुदृढ तुल्याउन स्वर्गीय बाजपेयीले गरेको योगदानको स्मरण पनि गरेका छन् ।

स्वर्गीय बाजपेयीप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै प्रधानमन्त्री ओलीले शोकाकूल परिवारजनमा सहनुभूति एवं समवेदना प्रकट गरेका छन् ।

असिम शोकको यो घडीमा भारत सरकार र त्यहाँका जनताका साथमा नेपाल सरकार रहेको प्रधानमन्त्री ओलीले आफ्ना भारतीय समकक्षीलाई पठाएको सन्देशमा उल्लेख गरका छन् ।

अटलको ९३ वर्षको उमेरमा निधन

भारतका पूर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्था (एम्स)मा उपचारका क्रममा बिहीबार बेलुका मृत्यु भएको हो । उनको ९३ वर्षको उमेरमा निधन भएको हो। वाजपेयी एम्समा नौ हप्तादेखि उपचाररत थिए। एम्सले जारी गरेको प्रेस रिलिजमा उनको मृत्यु भारतीय समयअनुसार बेलुकी पाँच बजेर पाँच मिनेट जाँदा भएको उल्लेख गरिएको छ। वाजपेयीलाई डिमोन्शिया नामको गम्भीर रोग लागेको थियो र सन् २००९ देखि व्हीलचियरको साहारामा थिए। मधुमेहका पनि बिरामी पनि रहेको उनको उपचार एम्सका निर्देशक डाक्टर रणदीप गुलेरियाले गरिरहेका थिए।

यसअघि पनि मिर्गौलामा संक्रमण देखिनुका साथै अन्य स्वास्थ्य समस्यादेखिएपछि उनलाई एम्समै भर्ना गरिएको थियो। भारतीय जनता पार्टी ९भाजपा०का संस्थापक वाजपेयी तीन पटकसम्म प्रधानमन्त्री भएका थिए। उनले लाल कृष्ण अडवाडीसँग मिलेर भाजपाको गठन गरी सत्ताको शिखरमा पुगे। उनी देशको सर्वोच्च नागरिको सम्मान भारत रत्नले पनि सम्मानित भएका छन्।

वाजपेयी दश पटकसम्म लोकसभामा चुनिएका व्यक्ति हुन्। उनी दोस्रो लोकसभादेखि १४औँ लोकसभासम्म सांसद भए। तर बीचका केही लोकसभामा उनको अनुपस्थिति रह्यो। खास गरी सन् १९८४ मा ग्वालियरमा कांग्रेसका माधवराव सिंधियाबाट पराजित भए। उनी सन् १९६२देखि १९६७ सम्म र १९८७ मा राज्यसभाका सदस्य पनि रहे। १६ मे १९६९ मा उनी पहिलोपटक प्रधानमन्त्री बने।

तर लोकसभामा बहुमत सावित गर्न नसकेर ३१ मे १९९६ मा उनले राजीनामा दिनु पर्‍यो। त्यसपछि १९९८ सम्म लोकसभामा उनी विपक्षी नेता भएर बसे। सन् १९९८ को आम चुनावमा सहयोगी पार्टीहरूसँग मिलेर बहुमत जुटाउँदै फेरि एकपटक प्रधानमन्त्री बने। तर एआइएडिएमकेले गठबन्धबाट समर्थन फिर्ता लिएपछि उनको सरकार गिर्‍यो र पुनः आम निर्वाचन गराउनुपर्‍यो।

सन् १९९९ मा भएको निर्वाचनमा राष्ट्रिय जनतान्त्रिक गठबन्धसँगको साझा घोषणापत्र लिएर वाजपेयी पुनः चुनाव लडे। यस निर्वाचनको प्रमुख मुद्दा वाजपेयीलाई प्रमुख बनाउने थियो। यसपटक गठबन्धनले बहुमत हाँसिल गर्‍यो र पुनः उनी तेस्रोपटक प्रधानमन्त्री बने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *