जानकी गाउँपालिकामा केही वर्षमै हिलाम्ये सडक हुंदैनन्ः मन्त्री चौधरी

बाँके  प्रदेश ५ सरकारका भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम लागु भएका स्थानीय तहको अवलोकन तथा निरिक्षण गरेका छन् ।
बाँकेमा जानकी, डुडुवा र नरैनापुर गाउँपालिकामा मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम सञ्चालन हुँदैछ । जानकी गाउँपालिकाको विकास निर्माण र भौतिक पूर्वाधारको अवलोकन पश्चात आईतवार वडा नं. २ बेलभारमा जनप्रतिनिधि र सर्वसाधारणलाई सम्वोधन गर्दै मन्त्री चौधरीले प्रदेश मन्त्रालयबाटै यहाँको समस्याको वारेमा बुझेको भए पनि वर्षादमा प्रत्यक्ष अवस्था बुझ्न निरीक्षणमा आएको बताए ।
‘अहिले वर्षाको समयमा निरिक्षण गर्दा प्रत्यक्ष समस्या बुझिने भएकोले भोली योजना बनाउन पनि सजिलो हुन्छ।’–प्रदेश ५ सरकारका प्रवक्ता समेत रहेका भौतिक पूर्वाधार विकासमन्त्री चौधरीले भने–‘यसै वर्ष सबै समस्या समाधान हुँदैन तर धेरै कुराको सम्वोधन हुनेछ ।’


जानकी गाउँपालिकाको विकास निर्माण र भौतिक पूर्वाधारको अवलोकनका क्रममा जानकी गाउँपालिका वडा नं. २ का वडाध्यक्ष चन्द्रिकाप्रसाद गुप्ताको बेलभारस्थित घरमा पुगेका मन्त्री चौधरीले अवको २÷४ वर्षमै जानकी गाउँपालिकाका सडक हिलाम्मे नहुने दावी गरे । ‘पिच नभएपनि अहिलेको जस्तो हिलाम्मे हुनुपर्दैन, राम्रो सडक बनाउँछौ।’मन्त्री चौधरीले भने–‘तपाईहरु हिँड्ने सडक हामी बनाईदिन्छौ, पढ्ने विद्यालयको व्यवस्था गरिदिन्छौँ, तर छोरी बुहारी तपाई पढाउनुस् ।’
छोरा मात्रै पढेर विकास नहुने बताउँदै उनले महिला शिक्षित नभएसम्म समाज विकास नहुने उल्लेख गरे । हरेक परिवार शिक्षित बनाउने लक्ष्यका साथ प्रदेश सरकार यो वर्ष पूर्ण साक्षर बनाउने नीति लिएको बताउदै उनले भने–‘छोरामात्रै होईन, छोरीसँगै बुहारीलाई पनि पढाउनुस, तपाईपनि अनौपचारिक शिक्षा भएपनि पढ्नुस् ।’
प्रदेश ५ का भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीसँगै प्रदेश सांसद बाबुराम गौतम, आईपी खरेल, जानकी गाउँपालिकाका अध्यक्ष रामनिवास यादव, प्रमुख प्रशासकीय अधिकृत पित्रीभक्त गिरी लगायतले जानकी गाउँपालिकाको विकास निर्माण र भौतिक पूर्वाधारको अवलोकन गरेका छन् । मन्त्री चौधरीले आईतवारनै डुडुवा गाउँपालिकाको समेत अवलोकन गरेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *