खुला ठाउँमा शौच गर्नेहरुनै सरसफाईमा

वीरेन्द्र जैसी, बाँके । नेपालगन्ज उपमहानगरपालिका १२ बेलासपुरका चिडिमारहरु एक वर्षअघिसम्म पनि खुला ठाउँमै शौच गर्थे । बस्तीमा एक सय घरधुरी थिए । कसैको शौचालय थिएन । रामकृपाल चिडिमार विगत सम्झन्छन्, ‘धेरै त बस्ती नजिकैको खेतमा दिसा गर्न जान्थे । कतिले नजिकै नालामै दिशापिसाब गर्थे । टोल नै दुर्गन्धित हुन्थ्यो ।’  नेपालगन्ज उपमहानगरपालिकाको सहयोगमा घरघरमा शौचालय बनाइयो । वयोबृद्ध देवीदिन चिडिमार भन्छन्, ‘अहिले खुला ठाउँमा कसैले दिसापिसाब गर्दैनन् ।

वस्तीमा नियमित सामूहिक सरसफाइ हुन्छ ।’ शहरको मुख्य बजार घरबारीटोलमा ढलको समस्या छ । व्यापारी जथाभावी सडकमा फोहर फाल्दैनन् । एकै ठाउँमा थुपारेको फोहर उपमहानगरपालिकाको ट्रयाक्टरले लैजान्छ । व्यापारी भानु गौतम भन्छन्, ‘सरसफाईमा उपमहानगरपालिकाकै मुख ताक्ने प्रवृत्ति विस्तारै हट्दै गएको छ ।’  नगरका प्रायः मुख्य चोकमा ठेलामा कारोबार हुन्छ । ठेलाको फोहोर व्यवस्थापन गर्न उपमहानगरपालिकाले ठाउँठाउँमा डस्टबिन राखेको छ । धम्बोझीचोकमा करिब २ दशकदेखि ठेलामा विरयानी बेच्दै आएका अख्तर अलि डस्टबिन प्रयोगबारे भन्छन्, ‘ग्राहकलाई जथाभावी फोहोर फाल्न दिन्नौँ । डस्टबिनमै हाल्न लगाउँछौँ ।’

सरसफाइ चेतना ल्याउन जनप्रतिनिधि सक्रिय छन् । नगर प्रमुख, उपप्रमुख, वडाअध्यक्ष र वडासदस्यहरु घरदैलो पुगेर फोहोर व्यवस्थापन सिकाइरहेका छन् । शौचालय निर्माणमा सहयोग, डस्टबिन वितरणसँगै चेतनामूलक कार्यक्रम जारी छ । चिडिमार कसरी सरसफाइ गर्न तयार भए त ? वडा नं. १२ का वडाध्यक्ष बुद्धिसागर सुवेदी ‘सामूहिक सरसफाई कार्यक्रम गरेर फोहर नगर्न र उपमहानगरपालिकालाई फोहर व्यवस्थापनमा सघाउन गरेको आग्रह” लाई स्थानीयले हाम्रै लागि काम गरिरहेका छन् भन्ने महसुस गर्नुको प्रतिफल ठान्छन् । नागरिक पनि सरसफाइमा जुटेका छन् । २०७३ साल साउनदेखि उपमहानगरसँगको सहकार्यमा साप्ताहिक रुपमा क्लिन नेपालगन्ज, ग्रीन नेपालगन्ज अभियान जारी छ । ‘ नेपालगन्जको परिचय नै फोहोरसँग जोडिन्थ्यो । सुन्दा दुःख लाग्थ्यो’, अभियन्ता डा. विनोद कर्ण भन्छन्, ‘शुरुमा अभियान थाल्दा झगडा गर्न आउनेहरुलाई हामीले गरेको फोहर हाम्रै लागि हानिकारक हुन्छ । यसले टोल र नगरको सुन्दरता बिगार्छ र स्वास्थ्य खराब पार्छ भन्ने चेतना दिन सफल भएका छौँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *