बर्दिया राष्ट्रिय निकुञ्जमा रातिमा मोटरसाइकल यात्रामा रोक

बर्दिया राष्ट्रिय निकुञ्जले पूर्वपश्चिम राजमार्गको निकुञ्ज क्षेत्रमा रातको समयमा यात्रामा रोक लगाइएको छ। पाटेबाघको आक्रमणमा परी महिलाको ज्यान गएपछि बर्दिया निकुञ्ज क्षेत्रमा रातिको समयमा साइकल, मोटरसाइकल चलाउन र पैदल यात्रा गर्न रोक लगाइएको हो।

हिंस्रक जनावरको आक्रमणबाट हुने सम्भावित जोखिम कम गर्न अम्रेनी–कर्णाली चिसापानी सडक खण्डमा शनिबारदेखि राति ८ बजेदेखि बिहान ६ बजेसम्म मोटरसाइकल, साइकल र पैदलयात्रुलाई हिँडडुलमा रोक लगाइएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णु प्रसाद श्रेष्ठले बताउनु भयाे।

राजमार्गमा पाटेबाघको चहलपहल बढेकाले सुरक्षित रहन समेत निकुञ्जले अनुरोध गरेको छ। पछिल्लो समय बर्दिया राष्ट्रिय निकुञ्ज अन्तर्गत राजमार्गमा रातिको समयमा प्रायःजसो पाटेबाघ देखिने गरेको छ। राति मात्रै होइन दिउँसोको समयमा पनि यस क्षेत्रमा बाघ देखिने गरेको यात्रुहरुले बताएका छन्।

बर्दिया निकुञ्जको रम्मापुरदेखि सैनवार क्षेत्रमा नेपालगञ्जदेखि बिहानको समयमा भुरिगाउँ आउने क्रममा धेरै पटक पाटेबाघ तथा जंगली हात्तीले आफ्नो बाटो काटेको एक यात्रुको भनाइ छ।

यस क्षेत्रमा साँझ र बिहानको समयमा जंगली जनावर भेटिने गरेको र जनावर अगाडि देखिएको खण्डमा मोटरसाइकलमा सवार यात्रुहरु ट्रक तथा बसको बीचमा रहेर निकुञ्ज एरिया पार गर्ने गरेका थिए।

यो घटनाले यस क्षेत्रमा यात्रा गर्ने यात्रुहरु त्रसित बनेका छन्। निकुञ्ज एरियामा वन्यजन्तुहरु भेटिन सक्ने र बाटो काट्ने समयमा दुर्घटना हुन सक्ने भन्दै टाइम कार्डका लागु गरिएको थियो।

अहिले निकुञ्ज क्षेत्रमा रातिको समयमा दुइपांग्रे सवारीमा यात्रा नगर्न निकुञ्ज प्रसाशनले आग्रह गरेको छ। यसबाट यात्रुहरुलाई पर्न गएको असुविधाप्रति निकुञ्जले क्षमा मागेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *