सडक दुर्घटनामा एक अटो पसलमा ठोक्किदाँ घटना स्थलमै एक जनाको मृत्यु ,सात जना घाइते

नेपालगञ्ज–कोहलपुर सडकखण्डको एसके पेट्रोल पम्प नजिक बसले ट्रयाक्टरलाई ठक्कर दिएर त्यही रहेको एक अटो पसलमा ठोक्किदाँ घटना स्थलमै एकजनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी सुभाष खड्काका अनुसार नेपालगञ्जदेखि कोहलपुरतिर गइरहेको ना ५ ख ५७७३ नम्बरको बसले सोही दिशामा गइरहेको भे १ त ५१३४ नम्बरको ट्रयाक्टरलाई ठक्कर दिएर अनियन्त्रित भै नजिककै एक अटो पसलमा पस्दा शुक्रबार दिउँसो १२ बजेर ५० मिनेटमा सो दुर्घटना भएको हो ।
उहाँले सिद्धार्थ भ्यू होटल नजिक अघिअघि गइरहेको ट्रयाक्टरलाई सोही दिशाबाट पछिपछि आइरहेको बसले ठक्कर दिएर अटो पसलमा छिरेको बताउनुभयो । प्रहरी प्रवक्ता खड्काका अनुसार ट्रयाक्टरमा ठोक्किएर अनियन्त्रित भएको बसले अटोरिक्सा बनाउने पसलेलाई किच्दै सटरमा गएर ठोक्किंदा घटनास्थलमै नेपालगञ्ज उपमहानगरपालिका १३ उदयपुरका विक्रम बृजवासीको मृत्यु भएको छ । सोही दुर्घटनामा परी नेपालगञ्ज १८ का विनोद लोध, उमेश रैदास, सुनिल रैदास, जानकी १७ का दिनेश कोरिया, नेपालगञ्ज २० राँझाका राज कुमार बाल्मिकी र लगधवाहाका अशोक शंकर र अति शंकर घाइते भएका छन्।
घाइतेहरुको उपचार नेपालगञ्ज मेडिकल कलेज नेपालगञ्ज शिक्षण अस्पतालमा भैरहेको प्रहरीले जनाएको छ । उक्त दुर्घटनामा परि अटोरिक्सा बनाउने मिस्त्रीको मृत्यु भएको प्रहरीले जनाएको छ । बसमा सवार ५ जना र एक जना मोटरसाईकलमा सवार तथा सडक छेउका एकजना गरि ७ जना घाईते भएका छन् । घाईते हुनेहरुमा ५ जना सामान्य र २ जनाको अवस्था मध्यम रहेको पनि प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *