प्रचण्डले अन्तरविरोधमा खेलेर पार्टी र सत्ता कब्जा गर्न खोजे :मुख्यमन्त्री पोखरेल

मुख्यमन्त्री शंकर पोखरेलले पार्टी एकताको बाँकी रहेको काम टुंग्याएर छिटो महाधिवशेनको तयारीमा लाग्नुको साटो प्रचण्ड पूर्व एमालेको अन्तरविरोधमा खेलेर पार्टी सत्ता कब्जा गर्न खोजेकाले पार्टीमा समस्या आएको बताउनुभएको छ ।
प्युठानको खलंगामा आयोजित कार्यकर्ता भेलामा बोल्दै उहाँले पार्टी एकताको मर्म विपरितका निरन्तर क्रियाकलाप गरिरहने तर बाहिर विधि र प्रक्रियाको प्रचार गर्ने प्रवृतिलाई सबैले चिनेको बताउनुभयो । उहाँले पार्टीको अन्तरिम विधान विपरित प्रथम अध्यक्षमाथि दोश्रो अध्यक्षले संगीन अभियोग सहितको आरोपपत्र तयार गरी एकल रुपमा प्रतिवेदन तयार गरेकोले समस्या चुलिदै गरेको बताउनुभयो । पार्टी एकताका लागि दुई अध्यक्ष मिल्न र समस्या समाधानको खोजी गर्न निकै पहल गरेपनि वेवास्ता भएको उहाँले बताउनुभयो ।उहाँले सरकारले दीर्घकालीन प्रभाव पार्ने धेरै राम्रा काम गरेको तर पार्टीभित्रैबाट त्यसलाई ओझेलमा पार्ने काम भएको बताउनुभयो ।
लोडसेडिङको अन्त्यमा सरकारको कामलाई ओझेलमा पार्ने गरी एउटा व्यक्तिलाई जस दिन खोजिएको उहाँले बताउनुभयो । प्रधानमन्त्रीले भारत भ्रमणकोे बेलामा २ सय ५० मेगावाट बिजुली खरिदको सम्झौता भयो, त्यसपछि लोडसेडिङ अन्त्यको बलियो आधार बन्यो, कुलमान घिसिङले व्यवस्थापकको हैसियतले चुहावटको नियन्त्रण गर्न पहल गरेका हुन् तर उनैले मात्रै लोडसेडिङ अन्त्य गरेका हुन भनेर भन्न सकिदैन्—उहाँले भन्नुभयो ।
झण्डै दुई तिहाईको बहुमतप्राप्त प्रधानमन्त्रीले विकल्पविहिन अवस्थामा प्रतिनिधिसभा विघटन गरी चुनावको घोषणा गरेको बताउनुभयो । सरकारलाई काम गर्न अप्ठारो भएपछि जनतामा जानु लोकतन्त्रमा स्वाभाविक प्रक्रिया भएकाले दुष्प्रचार नगरी चुनावी तयारीमा लाग्न उहाँले सबैलाई आग्रह गर्नुभयो ।
मुख्यमन्त्री पोखरेलले प्रचण्डले गडबड गर्न खोजेकोले कार्यकारी अध्यक्षको अधिकार दिने निर्णय फिर्ता भएपनि कसैलाई कारवाही नगरिएकोले अझै पनि पार्टी एकताको संभावना रहेको बताउनुभयो । प्रथम अध्यक्षमाथि लगाएको संगीन आरोप सहितको प्रतिवेदन फिर्ता भए, चुनावमा जान तयार भएमा र विगतका कमजोरी स्विकार गरेमा मिलेर जान सकिन्छ—उहाँले भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *