पार्टी सदस्यबाट हटाउँछु भन्नु राजनीतिक नौटङ्की होः प्रधानमन्त्री केपी शर्मा ओली

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई पार्टी सदस्यबाट समेत निष्काशित गर्छु भनेर अर्को पक्षले राजनीतिक नौटङ्की प्रदर्शन गर्न लागेको टिप्पणी गर्नुभएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज विहान विघटित प्रतिनिधिसभाका सांसदहरुसँगको छलफलमा उहाँले सो टिप्पणी गर्नुभएको हो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाकाअनुसार पार्टीको विधि, विधान विपरित बस्ने जमघट र भेलाले अध्यक्ष ओलीलाई हटाउन नसक्ने बताउनुभयो । यो उहाँहरुको विश्वलाई हँसाउन भद्दा मजाक मात्र हो प्रधानमन्त्रीले बैठकमा भन्नुभएको प्रेस सल्लाहकार थापाले जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओलीले आफू झापा आन्दोलनका क्रममा रहेकाबेला पनि २०२८ सालतिर केही समूहले आफूलाई समुहबाट निष्काशन गरेको घोषणा गरेको स्मरण गर्नुहुँदै भन्नुभयो, “फेरि संयोगबस अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समूहले मलाई पार्टीको सदस्यताबाट समेत निष्काशन गर्ने घोषणा गरिरहेको छ, यो विश्वलाई हसाउने राजनीतिक नौटङ्की मात्र हो ।”

आफू जहिले पनि पार्टी एकताको पक्षमा उभिएको तर अर्का अध्यक्ष प्रचण्ड सधैं विग्रह र विखण्डनको पक्षमा लागेको प्रधानमन्त्री ओलीले प्रष्ट पार्नुभएको प्रेस सल्लाहकार थापाले जानकारी गराउनुभयो । बालुवाटार भेलामा स्थायी कमिटी सदस्य तथा उद्योग मन्त्री लेखराज भट्टले आफूहरु सदैव पार्टी एकताको कोर्समा रहेपनि अर्का अध्यक्ष प्रचण्ड पार्टी विखण्डनको बाटो रोज्नुभएको बताउनुभयो ।

हिजो आइतबार बालुवाटारमा बसेको स्थायी कमिटीको बैठकलाई प्रेस सल्लाहकार तथा नेकपा प्रचार विभागका उपप्रमुख थापाले त्यसलाई भीडको संज्ञा दिनुभयो । भोलि ७ गते केन्द्रीय कमिटीको नाममा अर्को भीड जम्मा गर्ने प्रयास अर्को पक्षले गरेको थापाले टिप्पणी गर्नुभयो । “त्यस भीडले प्रधानमन्त्रीलाई पार्टीबाट न अनुशासनको कारवाही गर्नसक्छ न त पार्टीबाट हटाउन नै” उहाँले भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *