विश्वकप लिग २ अघि सिरिज खेलाउने क्यानको तयारी

आईसीसी विश्वकप लिग २ अन्तर्त ट्राई नेशन्स सिरिज खेल्नुअघि सिरिज गराउने तयारीमा नेपाल क्रिकेट संघ क्यान लागेको छ ।

नेपालले आगामी वर्ष मार्चमा ओमानमा विश्वकप लिग २ अन्तर्गत सिरिज खेल्दैछ । जसमा नेपालसहित ओमान र अमेरिका छन् । लिग २ मा नेपालले खेल्न लागेको यो दोस्रो सिरिज हो ।

यसअघि घरेलस मैदानमा फेब्रुअरीमा नेपालले यही दुई टिमसँग सिरिज खेलेको थियो । जसमा नेपालले अमेरिकालाई दुवै खेलमा हराएको थियो भने ओमानसंग दुवै खेलमा पराजित भएको थियो ।

२०२० मै हुनुपर्ने सिरिजहरु कोभिडका कारण स्थगित भएपछि आईसीसीले नयाँतालिका सार्वजनिक गरेको हो । लिग २ अन्तर्गत मार्च १९ देखि २८ सम्म ओमानको अल अमरितमा नेपालले सिरिज खेल्नेछ । यस्तै जुलाईमा स्कटल्याण्ड र नामिबिया सम्मिलित सिरिज खेल्न नेपाल स्कटल्याण्ड जानेछ ।

ओमानमा गएर सिरिज खेल्नुअघि नेपाल क्रिकेट संघले तयारीस्वरुप एउटा सिरिज खेलाउने तयारी गरिरहेको क्यान अध्यक्ष चतुरबहादुर चन्दले बताउनुभयाे। ‘मार्चमा हुने सिरिजको तयारीका लागि एउटा सिरिज आयोजना गर्ने योजना हो । कम्तीमा हामीभन्दा बलियो कुनै ए टिम नै भए पनि बोलाए खेलाउने प्रयासका लागि लागिरहेका छौँ,’ क्यान अध्यक्ष चतुर बहादुर चन्दले भन्नुभयाे।

‘ओडीआई नेशन वा आफ्नै लेभलको टिमलाई ल्याएर ट्राई सिरिज वा दिपक्षिय सिरिज गर्ने प्रयास हो त्यो नभए पनि हामीभन्दा बलियो ए टिम ल्याउन प्रयास हुनेछ । त्यो भयो भने हाम्रो खेलाडीले पनि सिक्ने अवसर पाउनेछन् ।’

कोभिडका कारण नेपालको घरेलु प्रतियोगिताहरु पनि प्रभावित बनेको छ । क्यानले गत मंसिर ११ गतेदेखि आधिकारिकरुपमा राष्ट्रिय टिमका खेलाडीलाई क्याम्पमा बोलाएर प्रशिक्षण सुरु गरेको थियो । तर चितवनमा मंसिर २७ देखि ३० सम्म भएको गौतम वुद्ध कपका लागि क्याम्पबाट खेलाडीहरु रिलिज गरेको थियो । अहिले खेलाडीहरु रेस्टमा छन् ।

अब पीएम कप राष्ट्रिय प्रतियोगिता खेलेपछि मात्र खेलाडीहरु क्याम्पमा प्रशिक्षण गर्ने सम्भावना रहेको छ । क्यानले यसअघि यही पुष ११ बाट महिला र पुरुषको पीएमकप गराउने तयारी गरेको थियो । तर अब पहिला मिहलाको प्रतियोगिता गराएर अनी पुरुषको प्रतियोगिता गराउने क्यान अध्यक्ष चन्दले बताउनुभयाे ।

क्यानले केही दिनअघि मात्रै अष्ट्रेलियन डेभ ह्वाटमोरलाई मुख्य प्रशिक्षकसमेत नियुक्त गरेको छ । उहाको सम्झौता २०२१ जनवरी १ देखि लागू हुनेछ र उहा जनवरी पहिलो साताभित्रमा नेपाल आइसक्ने क्यानले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *