नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सम्पन्न

फाइल फोटो

नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक सम्पन्न भएको छ। अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताको रक्षा गर्ने आव्हान र प्रतिवद्धता सहित बैठकमा राजनीतिक प्रस्ताव पेश गर्नुभएपछि आजको बैठक सकिएको हो।

अर्को बैठक १६ गते मंगलबार १ बजे पार्टी मुख्यालय धुम्बाराहीमा बस्ने निर्णय पनि बैठकले गरेको छ। आजको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको थियो। पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठकमा अध्यक्ष ओलीले प्रतिवद्धता गर्नु भए अनुसार अध्यक्षको राजनीतिक प्रतिवेदन पेश गर्नुभयो।

प्रतिवेदनमा उहाँले पार्टी एकताको संकल्प, पार्टीलाई थप मजबुत बनाउने प्रतिवद्धता सहितको आव्हान नेताहरुलाई गर्नुभएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो। अध्यक्ष ओलीले प्रस्तुत गर्नुभएको लिखित प्रस्तावलाई सचिवालयका सदस्यहरुलाई वितरण गरिएको छ। सो प्रतिवेदन अध्ययन गर्न तीन दिनको समय दिइएको छ। १६ गते बस्ने बैठकमा त्यसमाथि छलफल हुने प्रवक्ता श्रेष्ठले बताउनुभयो।

पार्टीमा देखिएको अहिलेको संकटलाई छलफलकै माध्यमबाट समाधान गर्ने प्रतिवद्धता नेताहरुले गर्नुभएको छ। आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम तथा अन्य सदस्यले संक्षेपमा धारणा राख्नुभएको प्रवक्ता श्रेष्ठले जानकारी गराउनुभयो। अर्को बैठकमा एजेण्डा माथि छलफल व्यवस्थित रुपमा शुरु हुने र उचित निस्कर्ष निस्कने प्रवक्ता श्रेष्ठले बताउनुभयो।

पार्टीको समस्या र त्यसको समाधानको विषयमा छलफल हुनु स्वभाविक रहेको र त्यसबाट नै पार्टीलाई एकताको गति दिने उहाँले विश्वास व्यक्त गर्नुभयो। पार्टी कमिटीमा हुने वहसलाई स्वभाविक र सकारात्मक रुपमा लिइनुपर्छ उहाँले भन्नुभयो। बैठक करिब दुई घण्टा बसेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *