फागुन १५ सम्म सङ्क्रमणको दर बढ्न सक्छ, सचेत हुन जरुरी

अमेरिका, युरोपका देशहरु, श्रीलंकामा अहिले कोरोनाको सङ्क्रमण दोस्रो चरणमा प्रवेश गरेसँगै कडा खालको लकडाउन, कर्फ्यु तथा निषोधाज्ञा लगाइएका छन्। जनस्वास्थ्य विज्ञ डा:रवीन्द्र पाण्डे फागुनको १५ गतेसम्म नेपालमा समेत सङ्क्रमणको दर बढ्ने भएकाले सरकारी संयन्त्रबाट प्रभावकारी मापदण्ड पालना गराउन र जनताले पनि अनुशासन कायम राख्न आवश्यक रहेको बताउनुहुन्छ।
नेपाल सरकारले भनेको जस्तै कात्तिक मसान्तसम्ममा सङ्क्रमितको सङ्ख्या एक लाख ८० हजारभन्दा माथि पुग्ने अनुमान मेल खाएको छ। मङ्सिर ८ गतेसम्मको तथ्याङ्क अनुसार दुई लाख २२ हजार २८८ लाई कोरोना सङ्क्रमण भए पनि दुई लाख दुई हजार ६७ जनाले कोरोनालाई जितेका डा:पाण्डे बताउनुहुन्छ।

मङ्सिरबाट सङ्क्रमितको सङ्ख्या कम जस्तो देखिए पनि परीक्षणको दायरा नबढेकाले कम भएको उहाँको अनुभव छ। सरकारले सरकारी अस्पतालमा परीक्षण गरेको पैसा तिर्नुपर्ने प्रावधान राखेसँगै सङ्क्रमणको लक्षण देखिएकाहरु समेत अस्पताल नजाने र होम आइसोलेशनमा बस्ने प्रचलन बढेको उहाँले बताउनुभयो।

‘सुरुमा निःशुल्क परीक्षण हटाएको समाचार बाहिर आएसँगै अस्पताल गएर परीक्षण गराउनेको सङ्ख्या घट्यो, यसले सङ्क्रमित हुनेको कुल सङ्ख्यामा समेत असर पार्यो’ डा। पाण्डेले भन्नुभयो। अस्पतालमा गएर बस्नुभन्दा घरमै बस्नु राम्रो भन्ने सन्देश फैलिएकाले अस्पतालसम्म आउनेको सङ्ख्यामा कमी भएको उहाँले बताउनुभयो। यसले अस्पतालमा चाप गराए पनि दीर्घरोगीहरु र श्वासप्रश्वासमा समस्या भएकाहरुले अक्सिजन लेभल घटेपछि मात्रै अस्पताल आउने परिपाटीको विकास भएकाले मृत्यु हुनेको सङ्ख्यामा भने वृद्धि हुन पुगेको उहाँले भन्नुभयो।

‘मान्छेहरु सिकिस्त भएपछि मात्रै अस्पताल जाने भएकाले आइसीयू र भेन्टिलेटर भरिएको र अस्पतालका सामान्य बेडहरु खाली हुन पुगेको छ’ उहाँले भन्नुभयो। लक्षण देखिएका बिरामीहरु समेत रुघाखोकी तथा ज्वरो आएमा त्यसको औषधि खाएर घरमै बस्दा जटिल समस्या भएपछि मात्रै अस्पताल जाने अवस्थाको कारणले मृत्युदर बढ्न सक्ने उहाँले बताउनुभयो। ‘सङ्क्रमणको लक्षण भएमा तत्कालै पीसीआर गर्ने र चिकित्सकको परामर्शमा घरमै बसेर भए पनि औषधि सेवन गर्दा जोखिम कम हुन्छ’ उहाँले सबैलाई अनुरोध गर्नुभयो।

‘अस्पताल जानुपर्नेभन्दा ढिला गरेर जाने परिपाटीको कारणले मृत्युदर बढेको छ। बचाउन सकिने मान्छेलाई समेत बचाउन सकिएको छैन’ उहाँले भन्नुभयो। मङ्सिर, पुस, माघ र फागुनको १५ गतेसम्म सोचेको भन्दा धेरै जोखिम बढ्ने भएकाले सतर्क रहन उहाँले अनुरोध गर्नुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *