नयाँ संकल्प गरी नववर्ष २०७५ मनाइँदै

नेपालगन्ज–आज विक्रम संवत् २०७५ बैसाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकआपसमा शुभकामना आदानप्रदान गरी मनाइँदैछ। सूर्यले मीन राशीको भोग समाप्त गरी मेष राशीबाट भोग सुरु गर्ने दिन आज बैसाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको पहिलो दिन पनि हो।

आज हरेक व्यक्तिले गत वर्ष गरेका कामको सफलता असफलता मूल्यांकन गरी असफलता दोहोरिन नदिने र सफलता पाउन नयाँ योजनाको सङ्कल्प गर्दछन्।

यस अवसरमा आज बिहानै स्नान गर्ने, घर–आँगन सफा गर्ने, देवदेवीको दर्शन गर्न मन्दिर जाने, मीठोमीठो खाने, साथीसङ्गाती तथा इष्टमित्रसँग भेटघाट गरी एक आपसमा शुभकामना साटासाट गर्ने गरिन्छ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम विसं शास्त्रीय संवत् भएको बताउँछन्। ’सौरमान र चान्द्रमान दुवैलाई समन्वय गरेर बनाइएको संवत नै विसं हो, विक्रमको अर्थ पराक्रम र आदित्यको अर्थ सूर्य हुन्छ, सूर्यका उपासकले चलाएकाले नै यसलाई विक्रम संवत भनिएको हो,’ उनले भने।

राजा विक्रमादित्यले चलाएको संवत् भएकाले यो संवत्लाई विक्रम संवत् भनिएको तर्क पनि एकथरीले गर्ने गरेका छन्। यस अवसरमा आज नेपालभरका सरकारी कार्यालय, सार्वजनिक संस्थान एवम् शिक्षण संस्थामा सार्वजनिक बिदा दिइएको छ।

यस वर्ष जेठ महिनामा मल मास परेको छ। मलमासमा नित्य रुपमा गरिने पूजा पाठ गर्नु हुन्छ। नैमित्तिक अर्थात् अकस्मात् परी आउने बालक जन्मँदा नामकरण, मानिस मर्दा क्रिया कर्म आदि गर्न शास्त्रीय रुपमा अवरोध नहुने अध्यक्ष गौतमले बताए। कुनै कामनाले गरिने काम्य कर्म भने मलमासमा गर्नु हुँदैन।

सूर्य मीन राशिबाट मेष राशिमा प्रवेश गर्ने वैशाख सङ्क्रान्तिका दिन मनाइने नयाँ वर्षमा स्नान, दान, गरेमा पाप पखालिई पुण्य कमाइने धार्मिक विश्वास रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *